नक्कली डाक्टरद्वारा दर्ता बिनाको क्लिनिकमा दाँतको उपचार
भरतपुर, ५ भदौ । स्वास्थ्यको हब भनेर चिनिने भरतपुरमा नक्कली डाक्टरको बिगबिगी हुन थालेको छ ।
नेपाल मेडिकल काउन्सिलले गरेको अनुगमनका क्रममा भरतपुरको हाकिमचोकमा नक्कली डाक्टर बनेर उपचार गरेको पाईएको हो।
नेपाल मेडिकल काउन्सिलले भरतपुरको हाकिमचोकमा रहेको हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको क्लिनिकमा नेपाल मेडिकल काउसिन्सलमा दर्ता नभएको व्यक्तिले उपचार गर्ने गरेको पाईएको हो ।
काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको हो ।
नेपाल चिकित्सक संघका अध्यक्ष तथा काउसिन्लका सदस्य डा. अनिलबिक्रम कार्कीले दिनुभएको जानकारी अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिकमा कुनै पनि निकायमा दर्ता नभएको पाईएको छ ।
अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही पनि चिकित्सक थिएनन् । सञ्चालक विषम चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दावी गरेका थिए । डा.कार्कीका अनुसार चौधरीे काउन्सिलमा दर्ता भएका छैनन् ।

नेपाल डेण्टल एसोसिएसनका अध्यक्ष एवं काउन्सिलका सदस्य अजयकुमार साह, नेपाल मेडिकल काउसिन्लका सदस्य डा. विक्रान्त ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहित अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनपछि क्लिनिकमा रहेको सिसी टिभीको हार्डडिस्क लिएर टोली प्रहरीलाई बुझाएको छ । उक्त हार्डडिस्को अध्ययन गरेपछि थप कुराहरु बाहिर आउने जनाईएको छ ।
उक्त क्लिनिकमा उपचारको क्रममा फलोअप आएका बिरामीहरुसँग सोधपुछ गर्दा निज चौधरीले नै ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गरेको पाईएको छ ।
चौधरी सहित अन्य दुई जना कर्मचारी त्यहाँ कार्यरत रहेका थिए ।