• सोमबार, १५ भदौ २०८३
  • images

    जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु 

    जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु 

    ६३ जना सङ्क्रमित 

    मंगलबार, भदौ ३ २०८२
    मंगलबार, भदौ ३ २०८२
    जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु 

    काठमाडौँ ३ भदौ  । सन् २०२५ मा जापनिज इन्सेफलाइटिसबाट ११ जनाको निधन भएको छ । 

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापनिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताउनुभयो ।

    गौतमका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । 

    मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।

     

    शाखा प्रमुख डा. गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतको मृत्यु भएको छ ।

     सन् २०२४ मा जापनिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा  सङ्क्रमण भएको थियो ।

    गौतमले जापनिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताउनुभयो ।

     “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेष गरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ”, डा. गौतमले भन्नुभयो । 

    गौतमका अनुसार  नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापनिज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ । 

    कसरी सर्दछ ?
    चिकित्सकहरूका अनुसार जापनिज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । 

    धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजनन स्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ । 

    जापनिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा गौतमले बताए । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ । 

    यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगर-बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार