• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सकहरु आन्दोलित, ७२ घण्टा कालोपट्टी बाँधेर सेवा

    चिकित्सकहरु आन्दोलित, ७२ घण्टा कालोपट्टी बाँधेर सेवा

    उपभोक्ता अदालतले गरेको फैसलाको विरोध 

    मंगलबार, असार १७ २०८२
    मंगलबार, असार १७ २०८२
    चिकित्सकहरु आन्दोलित, ७२ घण्टा कालोपट्टी बाँधेर सेवा

    काठमाडौँ , १७ असार ।  नेपालभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आजदेखि कालोपट्टी बाँधेर सेवा दिन थालेका छन्। 

    उपभोक्ता अदालतको पछिल्ला फैसलाप्रति असहमति जनाउँदै चिकित्सकहरु कालोपट्टी बाँधेर सेवा दिन थालेका हुन् । 


    नेपाल चिकित्सक संघको अगुवाइमा सुरु गरिएको यस ७२ घण्टे विरोध कार्यक्रम अन्तर्गत चिकित्सकहरूले नियमित सेवा प्रवाहलाई निरन्तरता दिँदै हातमा कालोपट्टी बाँधेर असहमति जनाइरहेका छन्।

    नेपाल चिकित्सक संघका महासचिव  डा. सन्जिव तिवारीले  पछिल्ला दिनमा उपभोक्ता अदालतले विभिन्न अस्पताल र चिकित्सकमाथि क्षतिपूर्तिको फैसला सुनाएको छ, जुन नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रसँग बाझिएको छ। उहाँको अनुसार उपचारका क्रममा देखिएको सम्भावित त्रुटिको छानबिन नेपाल मेडिकल काउन्सिलमार्फत हुनुपर्ने हो उपभोक्ता अदालतमार्फत होइन।

    संघका अनुसार ओम अस्पताल, हिमालय अस्पताल, ग्राण्डी अस्पताललगायत केही संस्थालाई अदालतले लाखौँदेखि करोडौँसम्म क्षतिपूर्ति तिर्न आदेश दिएको छ। यसरी चिकित्सकमाथि न्यायिक दबाब सिर्जना हुनु पेशागत स्वतन्त्रता र सेवा सुरक्षाका दृष्टिले चिन्ताजनक रहेको संघको ठहर छ।

    संघले उपभोक्ता संरक्षण ऐन २०७५ मा संशोधनको माग गर्दै सरकारी तहमा संवाद सुरु गरिसकेको जनाएको छ। साथै, महासचिव तिवारीको संयोजकत्वमा टास्कफोर्ससमेत गठन गरिएको छ जसमा निजी मेडिकल कलेज, डेन्टल एसोसिएसन, नर्सिङ संघलगायतका प्रतिनिधिहरू समावेश छन्।

    यस्तै, नेपाल डेन्टल एसोसिएसन र नेपाल अप्थाल्मिक सोसाइटीले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। यी संस्थाहरूले चिकित्सक संघको मागहरूलाई न्यायसंगत ठहर गर्दै आफ्ना सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेका छन्।

    संघले मिति असार १९ गते अर्को चरणका कार्यक्रमहरू तय गर्न सरोकारवाला निकायहरूसँग थप छलफल गर्ने जनाएको छ। यदि सरकारसँग सहमति नजुटेमा सशक्त आन्दोलनमा जानु पर्ने चेतावनी संघले दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार