उपभोक्ता अदालतको फैसलाबाट त्रसित स्वास्थ्य क्षेत्र
प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं, १४ असार । उपभोक्ता अदालतको पछिल्ला फैसलाबाट स्वास्थ्य क्षेत्र त्रसित बन्न पुगेको छ ।
उपभोक्ता अदालतले केहीदिनयता बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै अस्पताल र अस्पतालका चिकित्सकलाई करोड भन्दा बढी क्षतिपूर्ति फैसला गरेपछि स्वास्थ्य क्षेत्रमा आबद्धहरु त्रसित बनेका हुन् ।
शुक्रबार मात्रै नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, नेपालका निजी स्वास्थ्य संस्था तथा नेपालका निजी मेडिकल तथा डेन्टल कलेज संघका प्रतिनिधिहरूले आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उपभोक्ता अदालतको फैसलाप्रति गम्भीर असहमति जनाएका छन् ।
भेटमा उनीहरुले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या र चुनौतीबारे जानकारी गराउँदै आवश्यक समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले उपभोक्ता अदालतले गरेको निर्णयले स्वास्थ्य क्षेत्र त्रसित बन्न पुगेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित बढ्दो दबाव, चिकित्सा शिक्षामा देखा परेका नीतिगत अस्पष्टता तथा निजी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको जानकारी दिनुभयो ।

कार्कीले उपभोक्ता अदालतले अवैज्ञानिक, अदूरदर्शी फैसला गरेको आरोप लगाउनुभयो । उहाँले मेडिकल काउन्सिलले गर्ने काम उपभोक्ता अदालतले गरिरहेको भन्दै बिरमी कहिल्यैपनि उपभोक्ता हुन नसक्ने बताउनुभयो ।
चिकित्सकको विषय मेडिकल काउन्सिलले हेरिनुपर्छ भन्दै उहाँले अस्पताल र चिकित्सकलाई वस्तु बनाइएकोप्रति उहाँले गम्भीर असहमति राख्नुभयो ।
े स्वास्थ्य क्षेत्र उपभोक्ता हुनै सक्दैन भन्दै कार्कीले चिकित्सक र चिकित्सा पेशालाई वस्तु नबनाउन आग्रह गर्नुभयो ।
उहाँले अदालतको निर्णयले स्वास्थ्य क्षेत्रको मनोबल खस्कन सक्ने खतरा रहेको भन्दै यथाशीघ्र यससम्बन्धी स्पष्ट नीति र कानुनी संरचना आवश्यक रहेको बताउनुभयो ।
भेटमा प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको चासोलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै समाधानका लागि आवश्यक समन्वय र संवादमार्फत अघि बढ्ने आश्वासन दिनुभएको थियो ।