काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार क्षेत्रमा सहकार्यका लागि स्वीट्जरल्याण्डका स्वास्थ्य क्षेत्रमा सक्रिय विज्ञहरुसँग अन्र्तक्रिया गर्नुभएको छ ।
युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीहरुको समाजद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर उपचार तथा अनुसन्धानका क्षेत्रमा क्रियाशिल स्वीस विज्ञहरुसँग क्यान्सरको उपचारका क्षेत्रमा नेपालले गरिरहेका प्रयास तथा त्यसमा सहकार्यका क्षेत्रबारे कुराकानी गर्नुभयो ।
मन्त्री पौडेलले नेपालमा क्यान्सर प्रमुख स्वास्थ्य चुनौती बनिरहेको भन्दै यससँग जुध्नका लागि नेपालले उपचार सुधार तथा रोग लाग्न नदिन देशव्यापी परीक्षण अभियान र खोप कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
मन्त्री पौडेलले बाल क्यान्सरको निःशुल्क उपचार, किशोरीहरुविरुद्ध राष्ट्रव्यापी खोप अभियान तथा क्यान्सर सेवा प्रादेशिक अस्पतालहरुमा विस्तार लगायत कामले क्यान्सरका क्षेत्रमा सकारात्मक नतिजा ल्याउने उल्लेख गर्दै जटिल दीर्घरोगीहरुको स्याहारका लागि रणनीतिसमेत लागु गरेको बताउनुभयो ।
उहाँले स्वीट्जरल्याण्ड र युरोपबाट नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य भैरहेको भन्दै आभार प्रकट गर्नुभयो ।
बनै विश्वविद्यालयको हाइपरर्थमिया युनिटका प्रमुख डा इममानुयल स्टुट्जले क्यान्सर उपचारका क्षेत्रमा धेरै सुधार भैरहेको भन्दै कम लागतमा छोटो समयमा प्रभावकारी उपचार सेवा प्राप्त गर्न सकिने भन्दै नेपालमा समेत यस्तो प्रविधि प्रसार गर्न सकिने बताउनुभयो ।
बर्न विश्वविद्यालयको प्रशामक सेवा सह निर्देशक डा मोनिका फ्लेडरले क्यान्सर उपचारमा प्रशामक सेवाको महत्वपूर्ण योगदान हुने भन्दै नेपालमा समेत यस्तो सुविधा विस्तार हुन लागेको खबर सकारात्मक भएको बताउनुभयो ।
सहयोगी संस्था चाए या स्वीट्जरल्याण्डका करिन गसरले संस्थाका तर्फबाट नेपालमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग भैरहेको बताउनुभयो ।
कार्यक्रमको आयोजक युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीहरुको समाजका अध्यक्ष डा विनय श्रेष्ठले मन्त्रालयले डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीहरुलाई देशससँग् जोड्न नेपाल हेल्थ कन्क्लेभले योगदान दिएको बताउनुभयो । उहाँले नेपालको स्वास्थ्य सुधारमा मन्त्री पौडेलले सकारात्मक प्रयासहरु गरेको भन्दै चिकित्सकको हकहितका पक्षमा लिएको अडानको सराहना गर्नुभयो । उहाँले स्वीट्जरल्याण्ड तथा युरोपसँग नेपालले स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सक्ने भन्दै आफूहरुले यसमा सहजीकरण गर्ने बताउनुभयो ।
जेनेभास्थित नेपाली राजदूत रामप्रसाद सुवेदीसमेत सहभागी कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, युरोपमा क्रियाशिल नेपाली चिकित्सकहरु, गैरआवासीय नेपाली संघका पदाधिकारीहरु लगायत सहभागी हुनुहुन्थ्यो ।