काठमाडौं, ३० माघ । नेपाल चिकित्सक संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा एमडी, एमएस र एमडीएस को सिट संख्या थप गर्ने निर्णयको स्वागत गरेको छ।
संघका महासचिव सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै आज चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णयको स्वागत गरेको हो।
नेपाल चिकित्सक संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुनुपर्ने विषयमा निरन्तर रूपमा आवाज उठाइरहेको थियो। २०८१ माघ २४ गते सिट संख्या थप गर्न संघले प्रेस विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो।
ुसंघको अथक प्रयास पश्चात् यस महत्वपूर्ण निर्णय गरिएकोमा नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद ज्ञापन गर्दछौं र साथै यस निर्णयको प्रभावले स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी बिश्वस्त छौं,विज्ञप्तिमा भनिएको छ, “यस निर्णयले जेहेन्दार तथा दक्ष चिकित्सकहरुलाई नेपालमा स्नातकोत्तर तालिमको अवसर प्राप्त हुने विश्वास लिएका छौं।”