काठमाडौं, २८ माघ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको प्रतिस्पर्धा हुँदैछ ।
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन परेको छ ।
अस्पताल विकास समिति गठन आदेश २०६४ को दफा ६ अनुसार कार्यकारी निर्देशकको नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १० गते आवेदन खुला गरेको थियो।
निर्देशक पदका लागि आवेदन दिनेहरुमा हालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधी पौडेल पनि हुनुहुन्छ । यस्तै डा. पौडेलसँगै सिभिल अस्पतालमै कार्यरत रक्त रोग विशेषज्ञ डा. विशेष पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मी र डा. अनुजजंग रायमाझी, ट्रमा सेन्टरका पूर्व मेसु डा. रुद्र मरासिनी र डा. प्रमोद यादव, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का, वीर अस्पतालमा अर्थोपेडिक्स सर्जन डा. श्रवण थापा, डा. रोशन न्यौपाने, डा. विश्वरमण पौडेल र डा. अजित खनालले निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि आवेदन दिनुभएको छ ।
मन्त्रालयले १५ दिनको समय दिएर खुलाएको आवेदनमा निर्धारित समयभित्र १० जनाले आवेदन दिएका छन्।
अस्पतालका हालका निर्देशक डा पौडेलको कार्यकाल फागुन २५ गतेबाट सकिँदै छ। उहाँको कार्यकाल सकिनुअघि नै मुख्यसचिव अध्यक्ष रहेको अस्पताल विकास समितिले निर्देशक नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
अब निर्देशकका लागि कार्ययोजनासहित आवेदन दिएकाहरुको अन्तर्वार्ता हुनेछ। अन्तर्वार्तामा छनोट भएका तीन जनामध्येबाट एक जनालाई समितिले कार्यकारी निर्देशकमा नियुक्त गर्ने छ।