काठमाडौ । विश्वमा सूर्तिजन्य पदार्थबाटै वर्षेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ । तर त्यसको नियन्त्रण गर्नेतर्फ भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
सूर्तिजन्य पदार्थको सेवनबाट मानिसलाई क्यान्सर, क्षयरोग, मुटुरोग लगायतका नसर्ने रोगहरु लागेर मानिसलाई मृत्युको मुखसम्म पु¥याउँछ भन्ने थाहा हुदाहुदै पनि सूर्तिजन्य पदार्थलाई त्याग्न नसक्दा वार्षिक ७० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सूर्तिजन्य पदार्थको कारणबाट वार्षिक ३७ हजार मानिसहरुको मृत्यु हुने गरेको छ ।
नेपालमा नसर्ने रोगको तथ्याङ्क ४० प्रतिशत हुदा धुम्रपानबाटै १७ हजार नेपालीको वार्षिक रुपमा मृत्यु हुने गर्दथ्यो भने अहिले उक्त तथ्याङ्क ६५ प्रतिशत पुग्दा धुम्रपानबाट ३७ हजार नेपालीको मृत्यु हुने गरेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार सुर्तीजन्य पदार्थ सम्बन्धि ऐनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सके त्यसबाट हुने हानीलाई घटाउन सकिन्छ । वरिष्ठद क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले सुर्तीजन्य पदार्थबाट मानिसमा क्यान्सर, दम, ह्दयरोग लगायतको समस्या निम्तिन सक्नुकासाथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पु¥याउनुपर्ने जरुरी रहेको बताउनुभयो । डा. शाहीले सुर्तिजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिव ४५ जना र प्रति घण्टा दुईजना नेपालीको मृत्यु हुने गरेको बताउनुभयो । विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेहरुको संख्या एक अर्ब ३० करोडभन्दा बढी भएको अनुमान छ ।
सुर्ती नियन्त्रण अभियन्ता तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लागू भएपनि कार्यान्वयनको पक्ष फितलो रहेको बताउनुभयो । उहाँले नेपालमा कानुन कडा तर कानुनको पालना नभएको भन्दै अन्य देशमा भने कानुनको कडाइकासाथ पालना हुने गरेको बताउनुभयो । २०७१ सालमा सुर्तीजन्य पदार्थमा नेपालले उत्कृष्ट कानुन बनाए बापत एक करोड रुपैयाको ग्लोबल टोबाको कन्ट्रोल अवार्ड समेत हाल पारेको थियो । बमले नेपालमा राजस्व कार्यालयले कडाइ गर्ने वित्तिकै सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन कार्यान्वयन हुने भन्दै राजस्व , उद्योग लगायका सरकारी निकायका कारण नेपालमा सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइले सूर्तिजन्य पदार्थको कारणले नसर्ने रोग बढाइरहेको बताउनुभयो । उहाँले धुम्रपान विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने भन्दै कहिलेकाँही चुरोट सेवन गर्ने मानिसलाई पनि ह्दयघातको समस्या हुने जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेण्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले यस्तै अवस्था रहेमा सन २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ । यसमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ ।
नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्दछन भने सूर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेहरुमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ ।
सूर्तिजन्य नियन्त्रण अभियानमा काम गर्दै आएको सस्था एक्सन नेपालका प्रमुख आनन्द बहादुर चन्दले नेपालमा सूर्तिजन्य पदार्थमा चालिएका अभियानहरु सकारात्मक भएपनि कार्यान्जयन नहुदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थ सम्बन्धि ऐनहरु प्रभावकारी रहेको भन्दै कार्यान्वयन पक्ष कमजोर रहेको जानकारी दिनुभयो । चन्दले विदेशी कम्पनीले सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमुलक सन्देश राख्ने नियम पालना गरेता पनि नेपाली उद्योगहरुले भने अटेर गरीरहेको जानकारी दिनुभयो ।