काठमाडौं, १८ माघ । अब काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट समितिले कार्यविधि परिमार्जन गर्ने निर्णय गरेपछि डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका छन् । सिफारिस समितिको बिहीबार बसेको बैठकले डाक्टरहरूले पनि आवेदन दिन पाउने निर्णय गरेको हो ।
यसअघि कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो । यो प्रावधानमा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिएको भन्दै डाक्टरहरूले असहमति जनाएका थिए ।
सिफारिस समितिले पुनः केही दिनको समय दिएर आवेदनको लागि सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।
यसअघि आवेदन दिएर स्वीकृत भएका १६ जनाको भने यथावत् रहने छ । उपकुलपति लागि १८ पुसमा पहिलो पटक खुला आह्वान गरिएको थियो ।
तर कार्यविधिमा तोकिएको योग्यताका कारण डाक्टरहरूले आवेदन दिन नपाएपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिनुभएको थियो ।
छनोट समितिमा संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।