स्वास्थ्यमन्त्री पौडेलद्वारा उद्घाटन
काठमाडौं, १० मंसिर । फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)को २४औं शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका छन् ।
सम्मेलनको नारा 'उत्तरदायी अनुसन्धान : अधिकतम लाभ' भन्ने राखिएको छ।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो।
परिषदकि अधिकृत नमिता घिमिरेले दिएको जानकारी अनुसार सम्मेलनमा विश्वका विभिन्न २३ देशका विज्ञ तथा प्रतिनिधि सहभागी भएका छन् ।
घिमिरेका अनुसार सम्मेलनमा भाग लिन अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल,कोरिया, तान्जेनिया, भारत लगायतका मुलुकबाट २५९ जनाको सहभागिता रहेको छ ।
सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ ।
सम्मेलनमा स्वास्थ्य अनुसन्धान र स्वाथ्य क्षेत्रमा भएका नयाँ आविष्कार, यसले पारेका साकारात्मक र नकारात्मक प्रभावका विषयमा गहन छलफल हुनेछ ।
सम्मेलनमा रास्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिव अधिकारी, प्राडा. शरद वन्त, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनी कुमार झा लगायतले मन्तव्य राखेका छन् ।
सम्मेलनले स्वास्थ्य अनुसन्धानको नियमन गर्न, असल आचारसंहिता र संस्कारको विकास गर्न, गुणस्तरी तथ्याङ्क संकलन र संप्रेषण गर्न, नीति तथा योजना कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास परिषद्को छ ।