महासचिवमा सुरज पौडेल
काठमाडौं, १२ असोज । नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए)को अध्यक्षमा विप्लव रञ्जित निर्वाचित भएका छन् ।
संघको प्रथम केन्द्रिय महाधिवेशनले विप्लव रञ्जितको अध्यक्षतामा १४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । यसअघिको तदर्थ समिति विघटन गर्दै नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशान्त मुरारका, उपाध्यक्षमा विनोद विष्ट र डा.चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल, कोषाध्यक्षमा परशुराम भट्टराई, सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल थापा निर्वाचित भएका छन् । संघको सदस्यहरुमा विजय मिश्र, रैनक अग्रवाल, अजय कुमार, सुदिप राज सुवेदी, चिरञ्जिवी अधिकारी, पूर्ण कुँवर, शैलेन्द्र कुमार सिंह निर्वाचित भएका छन् ।
महाधिवेशनको समुद्घाटन गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले हरेक व्यवसायीले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताए । उनले कसैले गैरकानुनी रुपमा काम गर्न नहुने सुझाव दिए । महानिर्देशक पौडेलले उपभोक्तालाई मर्का नपर्ने गरी स्वस्थ्यवर्द्धक आहारपुरकको मूल्य निर्धारण गर्नसमेत आग्रह गरे ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले आवश्यकता हेरेर खाद्यपुरक वस्तुहरु बिरामीलाई सिफारिस गर्ने गरेको बताए।
सो अवसरमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाल, पिडानका अध्यक्ष शिवराज बास्कोटालगायतले विना दर्ता सामान ल्याएर बिक्री गर्ने व्यवसायीहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए । उनले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
एनएनसिएका नवनिर्वाचित अध्यक्ष विप्लव रञ्जितले ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्यका साथ स्थापना भएको संघले आगामी दिनमा सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने जानकारी दिए ।
व्यवसायिक हकहित, सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गतको उद्देश्य लिई बि.सं.२०८० साल चैत २२ गते नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) को स्थापना भएको थियो ।