सङ्खुवासभा, ४ भदौ । सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि आक्रमण भएको छ ।
पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज बैद्य ज्ञानेन्द्रप्रसाद शाहमाथि आक्रमण गरि कुटपिट भएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको जानकारी दिए । जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेका हुन् ।
घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले फेरि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै स्वास्थ्यकर्मीले सुरक्षाको माग गरिरहेका छन् ।