धनगढी, ३२ साउन । कैलालीस्थित गेटा अस्पतालमा बिरामी भर्ना गरेर (अन्तरंग ) उपचार गर्न थालिएको छ ।
अस्पतालमा शुक्रबार (आज) बाट बिरामी भर्ना गरेर अस्पतालमा सेवाको सुरुवात गरिएको हो । हाललाई ३५ बेड इन्डोर सेवा सञ्चालनमा ल्याइएको छ ।
अस्पतालका निर्देशक डा बिप्लव सापकोटाले हालसम्म अस्पतालले बहिरङ्ग (ओपीडी) सेवा मात्रै दिएकोमा अब आजबाट बिरामी भर्ना गरेर उपचार थालिएको बताए । हामीले आजबाट अन्तरंग सेवा सञ्चालन गरेका छौँ, डा. सापकोटाले भने ‘यसका लागि महिला र पुरुष बिरामीको छुट्टाछुट्टै वार्डको व्यवस्था गरिएको छ ।’
उनले आगामी मंगलबार देखि अस्पतालमा शल्यक्रिया सेवा पनि सुरु गर्ने तयारी भएको बताए ।
‘अहिले अस्पतालमा आइसीयू सेवा छैन् । आइसीयूको तयारी गर्दैछौँ । अझै करीव दुई महिना जति लाग्छ होला । संगै मोडुलर ओटि पनि सञ्चालनमा ल्याउने तयारीमा छ । डा.सापकोटाले हाललाई सानो शल्यक्रियाबाट सेवा प्रारम्भ गरेको जानकारी दिदै मंगलबारबाट सिजरियन सेक्सन जस्ता सेवाहरु प्रारम्भ हुने बताए ।
यस्तै अस्पतालले प्रयोगशाला र फार्मेसी सेवा २४ सै घण्टा प्रदान गर्ने भएको छ।
गेटा अस्पतालले जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रदान गर्दै आइरहेको छ। अस्पतालमा अहिले ओपिडी सेवाका दैनिक ४५ बढी बिरामी आउने गरेका छन् ।
गेटामा १२ जना चिकित्सक सहित ६३ जना स्वास्थ्यकर्मीहरुले सेवा दिन थालेका छन् । लामो सयम देखि सञ्चालनको अन्योलमा रहेको यो अस्पतालले पछिल्लो समय गति लिन थालेको छ ।
संघीय सरकारको प्रत्यक्ष चासो रहेको यो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालनका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ताकेता गर्दै आएका छन् । मन्त्री पौडेलले यसै साता सार्वजनिक गरेको आफ्नो कार्ययोजनामा पनि गेटामा अन्तरंग सेवा सञ्चालन गर्ने उल्लेख गरेका थिए ।