• सोमबार, १५ भदौ २०८३
  • images

    ईशान बाल अस्पतालमा जटिल तथा दुर्लभ शल्यक्रिया सफल

    ईशान बाल अस्पतालमा जटिल तथा दुर्लभ शल्यक्रिया सफल

    एकैपटक चार शल्यक्रिया 

    शनिबार, असार १ २०८१
    शनिबार, असार १ २०८१
    ईशान बाल अस्पतालमा जटिल तथा दुर्लभ शल्यक्रिया सफल

    काठमाडौँ, ३२ जेठ ।  वसुन्धारास्थित ईशान बाल तथा महिला अस्पतालमा ११ वर्षकी बालिकाको जटिल र दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ ।

    एकसाथ चार शल्यक्रियामा सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाएको, दुईवटै मिर्गौलाका नलीहरुमा पिसाब नफर्कने शल्यकिया, पिसाब थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृतिम नली बनाउने शल्यक्रिया गरिएको थियो ।

    नेपालमा यस्तो किसिमको शल्यक्रिया सम्भवत पहिलो भएको अस्पतालको दाबी छ ।


    रामेछाप जिल्ला लिखु तामाकोसी ६ की ११ वर्षकी तृष्णा थापाको जन्मजात मुत्र थैली नबनेको रोग (एक्सट्रोप्ट्री इपिस्पाडियस कम्प्लेक्स) सम्वन्धी समस्याको जटिल शल्यक्रिया सम्पन्न भएको  हो । 

    इसान अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले अत्यन्त दुर्लभ र जटिल मानिने यो शल्यक्रियामा बालिकाको एकै पटक चार किसिमको शल्यक्रिया गरिएको बताए ।

     प्राडा चौधरीले गत १० बैशाखमा आफू र प्राडा श्यामकृष्ण महर्जनसहितको टिमले १० घण्टा लगाएर अति जोखिमयुक्त शल्यक्रिया गरिएको बताए ।


    यस्तो समस्या भएका अधिकांश बालबालिकाहरुको मृत्यु हुने गरेकोले पनि यसअघि यस्ता किसिमको रोगको यो तहको उपचार नेपालमा सम्भाव नभएको उनले भनाइ  छ।

    शल्यक्रिया गरिएकी बालिका थापा ११ बर्ष अघि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मिएकी हुन् । जन्मदा उनको नाइटो भन्दा तल्लो भागमा पेटको भित्ता नभएको र पिसाबको थैली खुल्ला र पिसाब नली समेत नभई त्यहीबाट लगातार बाहिर पिसाब चुहिने अवस्था थियो ।

    परिवारले जन्मिएको ९ दिनमा कान्ति बाल अस्पतालमा ल्याएर थापाको उपचार गरेका थिए । त्यसबेला कान्तिमा उनै प्राडा चौधरीको नेतृत्वमा खुल्ला पिसाब थैली बन्द गर्ने शल्यक्रिया भएको थियो । त्यसपछि चार वर्षको उमेरमा पिसाब नलि बनाउने शल्यक्रिया गरिएको थियो ।

    पिसाबको थैलीको आकार उमेर अनुसार नबढी सानै भएको कारणले पिसाब लगातार चुहिरहने र पिसाब थैलोबाट पिसाब मिर्गौलाबाट आउने दुईवटै नलीहरुबाट उल्टै फर्केर मिर्गौलामा गईरहेको अवस्था थियो जसका कारण तृष्णाले शल्यक्रिया अगाडि डाइपर लगाउनपर्ने अवस्था थियो ।

    शल्यक्रिया पश्चात तृष्णाले पाइप मार्फत पिसाव गर्न सकेको र हाल उनको दैनिक अवस्था सामान्य रहेको उहाँका बाबु सन्तोष थापाले जानकारी दिए ।

    डा चौधरीले तृष्णाको जस्तो स्वास्थ्य समस्या १० हजार जीवित जन्ममा १ जनामा देखिने बताए । उनले यस्तो समस्या बालिकाहरु भन्दा बालकहरुमा बढी हुने गरेको जानकारी दिए ।

    शिशु गर्भमै छँदा यो रोगको निदान हुन्छ तर उपचार भने जन्मिसकेपछि मात्रै गर्न सकिने डा चौधरीको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार