काठमाडौँ, ८ चैत । तीनवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ ।
चिकित्सा शिक्षाका क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्न सरकारका तीन ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक आपसमा सम्झौँता गरेका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक आपसमा छुट्टा छुटै सम्झौँता भएको हो ।
बिहिबार प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीपी र न्याम्ससंग, बीपीले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बीपीसंग एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता गरेका हुन् ।
सम्झौँता पत्रमा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, कर्णालीका उपकुलपति डा मंगल रावल र बीपीका उपकुलपति डा ज्ञानेन्द्र गिरीले हस्ताक्षर गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सम्झौँता पछि विद्यार्थी तथा फ्याकल्टी समेत एक्सचेन्ज हुने जानकारी दिए । उनले काठमाडौँको न्याम्स, धरानको बीपी जस्तै जुम्लामा पनि अण्डर ग्राजुएट्स र पोष्ट ग्राजुएट्सका कार्यक्रमहरु सञ्चालन रहेको भन्दै छन् ती कार्यक्रमलाई थप प्रभावकारी बनाउन एक अर्कासंग फ्याकल्टी तथा स्टुडेन्ट सेयरिङका कार्यक्रम गर्ने जानकारी दिए ।
सिकाईका काठमाडौँमा धरानबाट शिक्षक तथा विद्यार्थीहरु जुम्ला आउँदा, जुम्लाका शिक्षक तथा विद्यार्थीहरु काठमाडौँ र धरान पनि पुग्न सक्ने भए,’ डा रावलले भने ।
कर्णालीका उपकुलपति डा रावलले यो सम्झौतासँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गतिविधिसँगै अनुसन्धान लगायतका विषयलाई थप उचाइमा पुर्याउने बताए।
कार्यक्रममा स्वास्थ्य मन्त्री यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि यो सहकार्यले महत्व राख्ने बताए । उनले प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पुर्याएको योगदानको समेत चर्चा गरे ।