ललितपुर, २९ फागुन । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको एकवर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको छ ।
अस्पतालका अनुसार मिर्गौला दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मिर्गौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन्। नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो।
अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा प्रकाश पौडेलले बताए।
‘२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला बिग्रेर उपचारका लागि आएका थिए’, डा पौडेलले भने, ‘अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढी भएर लिकेज हुन थालेपछि मिर्गौला बिग्रेर जान्छ।’
पछिल्लो समय खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि गएका व्यक्तिहरुको मिर्गौलामा समस्या देखिएको डा पौडेलले बताए। ५ जना मिर्गौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएको उनले जानकारी दिए।
अत्याधिक गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएकाहरुमा मिर्गौलाको समस्या बढेको उनको अनुमान छ।
‘वैदेशिक रोजगारीमा जानेहरुको मेडिकल स्क्रिनिङमै पनि समस्या छ, त्यहाँको वातावरणले पनि थप प्रभाव पर्छ र १० महिनामै मिर्गौलामा समस्या आएर स्वदेश फर्किएकाहरु पनि छन्,’ डा पौडेलले भने, ‘ खाडीमा पानी महंगो, कोक फेण्टा जस्ता पेय पदार्थ सस्तो हुँदा नेपालीहरु पानी खानुपर्नेृ ठाउँमा पनि पेय पदार्थको बढी प्रयोग गर्ने गर्दा पनि मिर्गौलामा समस्या निम्तिएको छ।’
नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपणदेखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेले बताए।
ुयहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,ु डा काफ्लेले भने।
मिर्गौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन्। सरकार र सबैको ध्यान मिर्गौलाको उपचारमा मात्र भएको भन्दै डा काफ्लेले अब मिर्गौला बचाउँने अभियामा लाग्नुपर्ने बताए।
‘मिर्गौलाको विषयमा सबै कुरा उपचार केन्द्रित भयो, प्रिभेलेन्सको कुरा हरायो, हामीले हाम्रो मिर्गौला स्वस्थ राख्नुपर्छ, वर्षको एकपटक मिर्गौला जाँच गराउनुपर्छ, उनले भने,‘सरकारको ध्यान पनि उपचारमै छ, स्वास्थ्य बीमाले पनि स्वास्थ्य परीक्षणमा जोड दिएको छैन, उपचारमै केन्द्रित छ।’
हालसम्म १५० भन्दा बढी बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएकामध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको र ९ जना प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ।
हेरौँ अस्पतालले जारी गरेको विज्ञप्तिः
प्रेस विज्ञप्ती
मृगौला प्रत्यारोपणका लागि नेपाल मडिसिटी
२९ फागुन २०८०
पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् ।
दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।
यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ । अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको छ ।
बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् ।
प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौला दिएका छन् । मृगौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन् ।
त्यस्तै, मृगौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।
अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।
“२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ,” डा पौडेलले भने ।
यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् ।
निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए ।
प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।
“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भने ।
मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।
मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।
उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ ।
विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुँच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धैरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको छ ।