• सोमबार, १५ भदौ २०८३
  • images

    भोज खाएपछि मृत्यु प्रकरणः  कुखुराको मासु विषाक्त रहेको अध्ययन टोलीको अनुमान

    भोज खाएपछि मृत्यु प्रकरणः  कुखुराको मासु विषाक्त रहेको अध्ययन टोलीको अनुमान

    हेल्दीखबर
    शनिबार, मंसिर ३० २०८०
    हेल्दीखबर
    शनिबार, मंसिर ३० २०८०
    भोज खाएपछि मृत्यु प्रकरणः  कुखुराको मासु विषाक्त रहेको अध्ययन टोलीको अनुमान

    काठमाडौं, १ पुस । लमजुङको सुन्दरबजारमा मंसिर २२ गते एक रात्रीभोजमा कुखुराको मासु विषाक्त भएका कारण बिरामीको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।  भोजमा सहभागी एक जनाको मृत्यु र धेरै बिरामी भएपछि गठित अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।

    सम्भावित खाद्य विषाक्तताको अध्ययन तथा अनुसन्धानको लागि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा शशी कँडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट भुपदेव भट्ट, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत तारा प्रसाद अर्याल र विश्व स्वास्थ्य संगठनका डा सुजन अधिकारी सहितको अध्ययन टोली मंसिर २६ गतेदेखि  स्थलगत अध्ययन गरिरहेको थियो।

    उक्त अध्ययन टोलीले मंसिर २९ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोद विन्दु शर्मा, महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका अधिकारी लगायतसँग आफ्नो अध्ययन प्रतिवेदन पेश गरेको छ।

    उक्त भोजमा दाल, भात, कुखुराको मासु र मुलाको अचार गरी चार परिकार सेवन गरिएको, उक्त परिकारहरू सेवन गरे पश्चात भोलिपल्टदेखि ३९ जनालाई झाडापखाला, ज्वरो, टाउको दुख्ने जस्ता लक्षण देखिन गई एचडीसीएस नमुना सामुदायिक अस्पतालमा उपचारका लागि गएको, बिरामीहरूमध्ये १ जना ३२ वर्षकी महिलाको मंसिर २४ गते आइतबार अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको टोलीले जनाएको छ।

    अन्य बिरामीहरू उपचार पश्चात घर फर्केका र  र केही अझै उपचाररत रहेको बताइएको छ। भोजमा सेवन गरिएका परिकारहरुमध्ये कुखुराको मासुमा विषाक्तता रहेको अनुमान गरिएको तथा  भोजमा मासु काट्न प्रयोग गरिएको धारिलो हतियार र अचानोबाट स्वाब निकाली परीक्षणका लागि प्रयोगशालामा पठाइएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक तथा मन्त्रालयका सूचना अधिकारी डा मधुरजी ढकालले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार