काठमाडौं,१० मंसिर । नेपाल चिकित्सक संघको आयोजनामा ‘तेस्रो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन’ आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्धनः अवसर र चुनौती’ भन्ने मुख्य थिम सहित नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर १० र ११ गते हुने भएको हो ।
संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा स्वास्थ्य सेवा प्रवर्धनका लागि विभिन्न ७ विषयमा बहस हुने तय गरिएको छ।
बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधीको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली जस्ता विषय रहेका छन्।
तय गरिएका बिभिन्न प्यानलका बहसहरुमा पुर्वस्वास्थ्य मन्त्री गगन कुमार थापा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा मन्त्रलयका उच्च अधिकारीहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झा, डा भगवान कोइराला, डा अर्जुन कार्की, अर्थ मन्त्रालयका प्रतिनिधी, बिभिन्न प्रदेशका स्वास्थ्य सचिवले बहस गर्ने छन्।
त्यसैगरी स्थानिय निकायबाट पालिकाका प्रतिनिधी मेयरहरु, प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसनका अध्यक्ष, निजि अस्पताल संचालकहरुको छाता संगठन अफिनका अध्यक्ष, औषधी उत्पादक संघका अध्यक्ष, केमसानका अध्यक्ष लगायत, स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षाका सरोकार रख्ने विश्व स्वास्थ्य संगठन सहित दातृ निकायका प्रतिनिधी समेत रहने छन्।
कार्यक्रमको उद्घाटनमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।