काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड—१९ महामारीबाट पार नपाउँदैं मुलुकमा डेंगु संक्रमण बढेकोले डेंगु नियन्त्रणमा सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
मंगलबार दिउँसो नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै देउवाले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । ‘डेंगु रोगलाई नियन्त्रण ल्याउन तपाईहरु सबैको सक्रिय भूमिको अपेक्षा गर्दछु,’ उहाँले थप्नुभयो,“जसरी कोभिड महामारी नियन्त्रण भयो,त्यसैगरी डेंगु नियन्त्रण हुनुपर्छ ।”
नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रमा केन्द्रीत रहेर सम्मेलन आयोजना गरेको भन्दै सम्मेलनमा उठेका विषयले निती निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
‘चिकित्साकर्मीहरुले सबभन्दा बढी महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले आफ्नो ज्यानलाई जोखिममा राखेर सेवा गर्नुभएकोमा धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री देउवाले हाल कोभिड—१९ महामारीबाट पूर्ण मुक्त हुन नपाउँदैं पुनः डेंगु रोगको प्रकोपबाट पीडित हुन पुगेको जानकारी गराउनुभयो ।
एकपछि अर्को महामारीको सामना गर्नुपर्दा समग्र जनजीविका, सामाजिक र आर्थिक जीवन नराम्ररी प्रभावित भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।
उहाँलेसरकारी स्वास्थ्य सेवा पूर्वाधारहरुको विस्तार र सुदृढीकरण गरी हाल देखिएका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए । यसका लागि उनले सरकारले सम्पूर्ण स्वास्थ्यकर्मी र चिकित्सकहरुको साथ पाउने विश्वास लिएको बताउनुभयो ।
नेपाल सरकारले सुरुदेखि जनस्वास्थ्य मापदण्डको निर्धारण, पालना, खोपलगायतका आवश्यक सामानहरुको आपूर्ति वितरण केन्द्रीत रहेको बताउनुभयो । उहाँले कोभिड—१९ र डेंगु रोगबाट संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापनमा निरन्तर जोड दिदैं आएको उल्लेख गर्नुभयो ।
कोभिड—१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखेर सम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको छ,’ उहाले भन्नुभयो, ‘हालसम्म करोडौं नागरिकहरु यसबाट लाभान्वित भइसकेको कुरा यहाँहरु सबैलाई अवगत नै छ ।’ उहाँले सम्मेलनमा हुने छलफलबाट निस्कने निष्कर्ष मुलुकको स्वास्थ्य क्षेत्रका लागि उपयोगी र सान्दर्भिक हुने विश्वास व्यक्त गर्नुभयो ।