काठमाडौं,४ कात्तिक । डा. ओजस्वी शेरचन्दलाई ‘मिसेस नेपाल कल्चर–२०२३’ को उपाधि प्रदान गरिएको छ ।
काठमाडौँमा आयोजित फाइनलमा कार्यक्रममा डा.शेरचन्दले ३६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस कल्चर नेपाल–२०२३’ को ताज हात पारेकी हुन् ।
मिसेस नेपाल कल्चर घोषित डा. ओजस्वीलाई प्रतियोगिताकी ब्रान्ड एम्बास्डर रुबी राणाले ताज पहिर्याएकी थिइन् ।
शीर्ष उपाधिसँगै डा.शेरचन्दले पब्लिक च्वाइस एवार्ड पनि जितिन ।
प्रतियोगिताको फस्ट रनरअपको उपाधि डा. अंकिता ठाकुरले जितिन। उनले फस्ट रनरअपसँगै डाइनामिक विधाको अवार्ड पनि पाएकी थिइन।
यस्तै सुष्मा बस्नेतले सेकेन्ड रनरअप उपाधि हात पार्नुभयो भने थर्ड रनरअप श्रेया ढुंगानाले प्राप्त गरिन ।
प्रतियोगिताका लागि ३७८ जनाले आवेदन दिएका थिए । जसबाट ४० जना प्रतियोगिताको अघिल्लो चरणका लागि छानिएका थिए । त्यसबाट उत्कृष्ट ३६ जनालाई अन्तिम चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

डा. ओजस्वीले प्रतियोगिताको उपाधि जितेपछि आफू स्वास्थ्य क्षेत्रमा क्रियासिल रहने प्रतिक्रिया दिइन।
उनले स्वास्थ्य संगै सामाजिक सेवा तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्ने योजना रहेको बताइन् । सन् २००८ मा नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१५ मा बायोकेमेष्ट्रीमा विशेषज्ञता हाँसिल गरेकी थिइन् ।
डा. ओजस्वी हाल नेपाल मेडिकल कलेजमा बायोकेमेष्ट्रीको एशोसियट प्रोफेसरका रुपमा कार्यरत छन् । यसअघि पनि उनले विभिन्न प्रतियोगिता जितिसकेकी छन् ।
उनले सन् २०१४ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मिड करिअर साइन्टीष्टको उपाधि पनि जितेकी थिइन् ।