काठमाडौं, ३ वैशाख । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसदअन्तर्गतका संसदीय समितिहरूमा नेतृत्व चयनका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले विभिन्न विषयगत तथा संयुक्त समितिका सभापतिका लागि नाम प्रस्ताव गर्ने निर्णय गरेको हो।
पार्टीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई अघि सार्ने निर्णय गरेको छ।
स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने यस समितिमा शेरचनको उम्मेदवारीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
त्यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीलाई सभापतिका रूपमा प्रस्ताव गरिएको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीको नाम तय गरिएको छ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको जनाएको छ।
हाल संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ तथा २ वटा संयुक्त गरी कुल १६ वटा संसदीय समितिहरू रहेका छन्।