काठमाडौं ४ असोज । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले टिकटक प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गर्नेछ ।
प्रतियोगिले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ । नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले पछिल्लो समय युवा देखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरुमाझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै संघका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको RAAB सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमि रहेको देखाएको र अहिले पनि नेपालका धेरै नागरिकहरु आँखा उपचार हुन्छ भन्ने जानकारीकै अभावमा दृष्टिविहिन जिवन बिताईरहेका छन् उनिहरुलाई वा उनिहरुको परिवारमा पनि आँखा स्वास्थ्य सम्बन्धी जनतेचना जागृत होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
स्थापनाकाल देखि नै संघले आँखा उपचार सेवासंगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिईरहेको र अहिले पछिल्लो समय मानिसहरुमा आएको सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको बताउछन् संघका अध्यक्ष प्रा.डा चेतराज पन्त ।
आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगिहरुले निर्माण गरेको भिडियोको बिषयबस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा बिषयबस्तु समावेश गर्न पाईने छैन ।
प्रतियोगिले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समाबेश नगरिने बताउछन् संघका कार्यक्रम व्यबस्थापक रञ्जन साह । बिजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुक मार्फत गराईने संघले जनाएको छ ।