काठमाडौं, २५ भदौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ ।
उहाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिवाना हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका व्यवसायीबाट अधिकार नै नभएको विद्युत महसुल बापत साहले ३३ लाख २० हजार २२६ रुपियाँ सङ्कलन गरि भ्रष्टाचार गरेको बताउनुभयो ।
विद्युत् महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सम्पत्ति हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।