• सोमबार, १५ भदौ २०८३
  • images

    पोखरामा पनि ओपन हार्ट सर्जरी 

    पोखरामा पनि ओपन हार्ट सर्जरी 

    हेल्दीखबर
    आइतबार, भदौ ३ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ ३ २०८०
    पोखरामा पनि ओपन हार्ट सर्जरी 

    पोखरा ३ भदौ । पोखरामा पहिलो पटक ओपन हार्ट सर्जरी सेवा सुरु भएको छ । 
    चरक मेमोरियल हस्पिटलमा ओपन हार्ट सर्जरी सेवा सुरु भएको हो । योसंगै ओपन हार्ट सर्जरी सेवा गण्डकी प्रदेशमा समेत प्रवेश गरेको छ ।

    स्वास्थ्य मन्त्रालयबाट एक महिनाअघि अनुमति पाएको यो हस्पिटलले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतको मनमोहन कार्डियो थोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सहयोगमा ४५ वर्षीय एक पुरुषको सफलतापूर्वक सर्जरी गरेको हो । 
    मनमोहनका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई र कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा, चरक हस्पिटलका डा. कृष्ण बस्याल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. एसके जैसवाललगायतको टिमले करिब साढे चार घन्टा लगाएर ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
    यसअघि यो सेवा काठमाडौंस्थित सहिद गंगालाल हृदय रोग केन्द्र, मनमोहन कार्डियो थोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, चितवन, विराटनगर र धरानमा मात्र सञ्चालन हुँदै आएको थियो । चरकमा यो सेवा सुरु भएसँगै गण्डकीका ११ जिल्ला र आसपासका अन्य जिल्लाका बिरामी लाभान्वित हुने भएका छन ।

    मुटुको दुईवटा नशाले काम नगरेका बिरामीको सर्जरी ठूलोमध्येको एक रहेको बताए । छाती चिरेर गरेको सर्जरीमा ती बिरामीको काम नगरेको दुई नशामध्ये एउटामा हातको र एउटामा छातीको नशा लगेर जोडिएको उनले जानकारी दिए । डा. भट्टराईले  गत शुक्रबार सर्जरी गरिएका बिरामीको अवस्था हाल सामान्य रहेको र उनी आफैँ हिँडडुलसँगै खाना खान सक्ने भएको बताउनुभयो ।

    पोखरामै सर्जरी गर्न चाहने बिरामीका लागि आफूलगायतको टिम पोखरा आएर गर्ने र बिस्तारै आवश्यक जनशक्ति तयार गर्ने गरी सहयोग गर्ने र यसका लागि आवश्यक काम सुरु भएको उहाँको  भनाइ छ । मुुटुको भल्व फेर्ने, भल्भ मर्मत गर्ने, प्वाल टाल्ने, मेसिन राख्ने, वाइपासलगायतका विभिन्न प्रकारका सर्जरी हुने गरेको उहाँले बताउनुभयो । 
    मुटुको सर्जरी सेवाका लागि आवश्यक उपकरण खरिद गरी चरक अस्पतालले सर्जरी कक्ष तयार गरेको बताएको छ । चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार यसका लागि तीन करोडभन्दा बढी खर्च गरेको छ। सेवा सुरुसँगै सर्जरीका लागि बिरामीलाई सरकारले दिने एक लाख रुपैयाँको सहायता चरकबाट समेत पाइने उनले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार