काठमाडौँ, २६ असार । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिएको अभिव्यक्तिको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले विरोध गरेको छ ।
महासंघले मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्रीको अभिव्यक्तिलाई गैरकानूनी, गैरजिम्मेवारपूर्ण र आपत्तिजनकको संज्ञा दिएको छ ।
महासंघका अध्यक्ष डा झलक गौतमद्धारा जारी विज्ञप्तीमा ‘संविधानको धारा १६ को सम्मानपूर्वक बाच्न पाउने हक तथा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को व्यवस्था विपरितको कसुरु हुने गरी आएको आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्तिले मन्त्री जस्तो पदको पदीय गरिमाको अवमूल्यन भएको,’ उल्लेख गरेको छ ।
विज्ञप्तीमा ‘नेपालको स्वास्थ्य सेवाको सम्पूर्ण जिम्मा लिएको र स्वास्थ्य सेवालाई आम मानिस तथा दुर दराजसम्म सेवा प्रत्याभूत गर्ने निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बहालवाला मन्त्री बस्नेतले मन्त्रालयमा आफ्नो समस्या समाधानका लागि निवेदन गर्न आएका स्वास्थ्यकर्मीप्रति इंगित गर्दै सार्वजनिक रुपमै डोरी लिएर झुन्डिन पठाउनु भन्ने गैरकानूनी गैर जिम्मेवारपूर्ण र आपत्तिजनक अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना गर्दै खेद प्रकट गर्दछ भनिएको छ ।’
