काठमाडौं, ८ माघ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणमा निर्भर हुँदा साना–साना कुरा पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताउनुभएको छ ।
ओलीले प्रविधिको उपलब्धिले मानिसमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उपकरणको बढ्दो प्रयोगले मानिसमा स्मरण शक्ति कमजोर भइरहेको बताउनुभएको बताउनुभयो ।
आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले दिमागको वास्तविक श्रोत भनेको मानिसका इनद्रीयहरु नै भएकाले नयाँ प्रविधिको प्रयोग गरेर त्यसलाई जीवन पद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गर्नुभयो।
उहाँले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताउनुभयो। अध्यक्ष ओलीले आयुर्वेदले मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रूण अवस्थादेखि जीवनका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘हामी विस्तारै विस्तारै उपकरणमा बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो। मोबाइल नहुँदा मलाई पाँच सय बढी टेलिफोन नम्बर आउँथ्यो, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो। हिसाब गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौँ। परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले। तर नलेजको वास्तविक श्रोत मानवका इन्द्रियहरु नै हुन्। मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरौँ, अत्याधिक रुपमा तर उपचार पद्धतिमात्रै होइन जीवनपद्धतिकै रुपमा प्रयोग गरौँ। हामीले उपचारको कुरा ड्युटी झैँ होइन कर्तव्य झै गरेर पूरा गरौँ, यी दुई फरक कुराहरु हुन्।’’
अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परे पनि अब बढ्ने समय आइरहेको बताउनुभयो। उहाँले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविक देन भएको बताउनुभयो। उहाँले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिए पनि कतिपय ऋचा दैविदेन रहेको बताउनुभयो। अध्यक्ष ओलीले आयुर्वेद ऋषिमुनिबाट थपिए पनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘केही चिजहरु यस्ता छन्, जसलाई अपौरुषिय अथवा मानव निर्मित होइन भन्ने शास्त्रले वर्णन गरेका छन्। वेद मानव रचित होइन, दैवीदेन हो भन्ने छ। कसले लेखेको भन्ने थाहा छैन। वेदका ऋचा पछिल्लो समय कसले बनायो भन्न सकिन्छ, पछिल्लो समय बनेका कतिपय ऋचा छन्, त्यसभन्दा अघिका ऋचाको बारेमा जानकारी छैन, त्यसैले वेदलाई दैविक भनिन्छ। आयुर्वेदलाई पनि पछि ऋषिहरुले निर्माण गरेको तर यो पनि पौरुषिय होइन अलौकिक हो भन्ने गरिन्छ। यसले हाम्रो पौराणिकतालाई जनाउँछ। वेद भनेको विज्ञान हो, आयुर्वेद भनेको जीवन, आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान हो। जीवन आयुसँग सम्बिन्धत छ। मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिँदैन, आयुर्वेदले जन्म वा भ्रूण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्ने हो।’’