काठमाडौ । लक्षित सूमहभन्दा बाहेकका व्यक्तिहरुको अराजकताका कारण वीर अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)मा आइतबारदेखि कोभिडबिरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ ।
काठमाडौ स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले लक्षित समूहभन्दा अन्य व्यक्तिले खोप लगाउन खोज्ने,स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिनुभयो ।
उहाँले ती केन्द्रहरुमा लक्षित समूह भन्दा बाहिरका व्यक्तिहरुको घुसपेठ नियन्त्रण गर्न कठिन भएको र अस्पतालमा कोभिडका बिरामीमो चाप बढ्न गएको भन्दै खोप कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख खड्काले आइतबार थापाथलीस्थित प्रसूतीगृह, काठमाडौँ मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल मिनभवन, शिक्षण अस्पताल महाराजगञ्ज, राधाश्वामी आईसोलेसन सेन्टर सामाखुशी र सशस्त्र प्रहरी बल बलम्बु गरी ६ स्थानमा अतयावश्यक सेवाका व्यक्तिहरुलाई पहिलो मात्रा भेरोसेल खोप दिईने कार्यक्रम यथावत रहेको बताउनुभयो । यस्तै महानगरपालिकाको ३२ वटा केन्द्र र अरु १० वटा नगरपालिकाको खोप केन्द्रहरुमा पनि खोप लगाउने कार्य निरन्तर भएको उहाँको भनाई छ ।