काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई नर्स बेलायत पठाउनका लागि श्रम स्वीकृतिमा समझदारीका लागि स्वीकृत गरेको छ ।
मासिक अधिकतम् ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुन लागेको हो । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद् पुगेर प्रस्ताव पारित भएको हो । श्रम मन्त्रालयले बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउने छ। नर्स पठाउँदा सेवा सुविधा कस्तो हुने ? कति जना र कस्ता जनशक्ति पठाउने ? भन्ने लगायतका विस्तृत विषय समझदारीले नै टुंगो लगाउनेछ ।