बुटवल । आइतबारदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट,बेड तथा रगत पनि नि:शुल्क हुने भएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटबाट लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शय्या) र रगतमा शुल्क नलिने घोषणा गरे अनुसार यी सबै सेवा नि:शुल्क हुने भएको हो। सोही घोषणा अनुसार साउन १ गतेदेखि ओपिडी,आकस्मिक उपचार,रगत र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘टिकट शुल्क नलाग्ने भएपनि बिरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्ने हुन्छ। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने बताउनुभयो । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा गएपछि निःशुल्क रगत पाउने छन् ।