• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोना खोप लगाइदिएर २० हजार घुस लिने दुई स्वास्थ्यकर्मीविरुद्ध मुद्धा दायर 

    कोरोना खोप लगाइदिएर २० हजार घुस लिने दुई स्वास्थ्यकर्मीविरुद्ध मुद्धा दायर 

    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    कोरोना खोप लगाइदिएर २० हजार घुस लिने दुई स्वास्थ्यकर्मीविरुद्ध मुद्धा दायर 

     काठमाडौँ । कोरोना विरुद्धको खोप लगाउनका लागि सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको आरोपमा जनकपुरबाट पक्राउ परेका दुई जना स्वास्थ्यकर्मी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको  छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी स्वास्थ्य चौकी, महोत्तरीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेका विद्यार्थी कृष्णाकुमार यादवविरुद्ध मुद्धा दायर गरेको हो ।नियन्त्रणमा लिएर छानवीन गर्दा आरोप पुष्टि भएपछि विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।अख्तियारले साह र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको दावि गर्दै २० हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय माग दावी गरेको छ ।
    अख्तियारको टोलीले उनीहरुलाई गत २७ मंसिरमा जनकपुरबाट पक्राउ गरेको थियो । 
    हेल्थ असिस्टेन्ट साहले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाई दिनका लागि सेवाग्राहीसंग २० हजार रुपैयाँ मागेको र उहाँको  निर्देशनमा हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णाकुमार यादवले खोप लगाई दिई २० हजार रुपैयाँ लिएको अख्तियारको आरोप छ ।

    हेर्नुहोस विज्ञप्ती
    प्रेस विज्ञप्ति:- मिति २०७८।१०।१२ गते ।
    —————————————————-
    जिल्ला महोत्तरी, महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहले नि:शुल्क रुपमा कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिनु पर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन रु.२०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
    अनुसन्धानको सिलसिलामा महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहले सेवाग्राहीसँग खोप लगाईदिनका निम्ति घुस/रिसवत माग गरेको र निजले भनेबमोजिम नै कृष्णा कुमार यादवले सेवाग्राहीबाट रु.२०,०००।– घुस रिसवत लिएको पुष्टि हुन आएकोले निज हेल्थ असिस्टेन्ट अजय कुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज अजय कुमार साहलाई बिगो रू.२०,०००।-(बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिने साथै कृष्णा कुमार यादवले घुस/रिसवतबापत रु.२०,०००।–(बीस हजार) अजय कुमार साहको निमित्त लिएको तथ्य समेतको आधारमा निज कृष्णा कुमार यादवको पनि घुस/रिसवत लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको देखिन आएको हुँदा निज कृष्णा कुमार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा मतियार भई कार्य गरेकोले निजलाई बिगो रू.२०,०००।–(बीस हजार) कायम गरी ऐ.ऐ. दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
    सहायक प्रवक्ता
    वेदप्रसाद भण्डारी

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार