काठमाडौँ, । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको स्वास्थ्योपचारमा ध्यान दिन निर्देशन दिनुभएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रोहिणी पुलमा खस्दा ९ जनाको मृ्त्यु भएको थियो ।
गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेण्ट डा शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
आज बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु२ख ३८४१ नंको बस दुर्घटना भएको थियो ।