अमेरिकाको केन्टकी राज्यमा शुक्रबार राति आएको भीषण आँधीका कारण अहिलेसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। राज्यका गभर्नर एन्डी बेशियरले यसलाई केन्टकीको इतिहासमा सबैभन्दा खराब आँधी भएको बताए।
उनले मृतकको संख्या एक सय पुग्न सक्ने बताए। न्युयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा मेफिल्डको मैनबत्ति बनाउने कारखानामा करिब १०० जना मानिस थिए। जसमध्ये करिब एक दर्जनको मृत्यु भएको हुनसक्ने बेशियरले बताए।
प्रभावित क्षेत्रमा बस्दै आएकी साराह बियरम्यानले आफ्नो साथी अझै बेपत्ता भएको बताइन्। समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले भनिन्, ‘मैले आज राति करिब ८ बजे उनीसँग कुरा गरेको थिएँ। त्यसअघि मैले उसलाई मेसेज गरेको थिएँ। र ऊ आफ्नो भ्यान छोड्न गोदाम जाँदै थियो। त्यसपछि ऊ सँग कुरा हुन सकेको छैन।’
प्रशासनिक अधिकारीहरूले शुक्रबार राति आएको आँधीले दक्षिणी इलिनोइसमा रहेको अमेजन गोदामलाई ध्वस्त पारेको बताएका छन्। छत भत्किँदा कति मानिस घाइते भएका छन् भन्ने अझै स्पष्ट नभए पनि स्थानीय आपतकालीन सेवा संगठनले फेसबुकमार्फत ठूलो क्षति भएको बताएको छ।