काठमाडौं । पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. संज्ञा मल्ल संयुक्त राष्ट्रसंघले दिने ‘वर्ष महिला प्रहरी २०२१ अवार्डबाट पुरस्कृत हुनुभएको छ ।
हाल कंगोमा कार्यरत डा. मल्लले इबोला र कोभिड–१९ महामारी नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै संयुक्त राष्ट्रसंघले पुरस्कृत गरेको हो । डा. मल्लले गत मे मा भएको ज्वालामुखी बिस्फोटमा समेत उत्कृष्ट भूमिका खेलेको राष्ट्रयसंघले जानकारी दिएको छ ।
मल्लले कोभिड–१९ संक्रमण रोकथामका लागि एक गाइडलाइन समेत तयारी पार्नुभएको थियो । उहाँकै नेतृत्वमा कंगोमा महामारी नियन्त्रण गर्ने क्रममा तीन सय भन्दा बढी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको थियो।
मल्ल कंगोको राजधानी कान्सासामा रहेको मिसनको मुख्यालयमा जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुखमा कार्यरत हुनुहुन्छ । डा. मल्लले नेतृत्व गर्ने इकाईले राष्ट्रसंघमा कार्यरत कर्मचारी र स्थानीय बासिन्दालाई स्वास्थ्य सम्बन्धी सावधानीको मापदण्डमा सचेत गराउँदै आएको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार मल्ललाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम छ।