• सोमबार, १५ भदौ २०८३
  • images

    नगर अस्पतालको क्यान्टिनमा अखाद्य सामग्री बिक्री

    नगर अस्पतालको क्यान्टिनमा अखाद्य सामग्री बिक्री

    सोमबार, साउन २५ २०८३
    सोमबार, साउन २५ २०८३
    नगर अस्पतालको क्यान्टिनमा अखाद्य सामग्री बिक्री

    काठमाडौँ, २५ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका दुई खाद्य व्यवसायमा गरेको आकस्मिक अनुगमनका क्रममा खाद्य स्वच्छतासम्बन्धी विभिन्न कैफियत फेला पारेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित नगर अस्पतालमा सञ्चालित खाजा घरमा मसीजन्य पत्रिकामा राखेर खाद्य पदार्थ बिक्री गरेको पाइएपछि करिब दुई सय ग्राम निम्की नष्ट गरिएको छ ।

    विभागले प्राप्त गुनासोका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गत २२ साउनमा कागेश्वरी मनोहरा र नागार्जुन क्षेत्रका दुई खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा कागेश्वरी मनोहरा–६ स्थित नगर अस्पतालमा सञ्चालित खाडा देवी खाजा घरमा मसीजन्य पत्रपत्रिकामा राखेर निम्कीलगायतका खाद्य पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएको विभागले जनाएको छ । पत्रपत्रिकामा राखिएका करिब दुई सय ग्राम निम्की अस्पताल प्रशासनको रोहबरमा नष्ट गरिएको हो ।

    त्यस्तै, उक्त खाजा घरमा लेबलसम्बन्धी विवरण पूर्ण नभएका खाद्य पदार्थ भण्डारण गरी राखिएको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको तथा कीट नियन्त्रणको व्यवस्था पर्याप्त नभएको पाइएको विभागले जनाएको छ ।

    अनुगमनका क्रममा खाजा घरको सरसफाइको अवस्था सामान्य रहेको पाइएको थियो । भान्सामा भाँडा सफा गर्ने तथा कच्चा पदार्थसमेत भण्डारण गर्ने गरेको पाइएको विभागको निरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

    विभागले खाजा घर सञ्चालकलाई देखिएका कैफियत सुधार गरी त्यसको प्रमाणसहित १५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार गुनासो प्राप्त भएपछि विभागले तत्काल अनुगमन गरी खाद्य स्वच्छताको अवस्था जाँच गरेको हो ।

    गुनासोका आधारमा आकस्मिक रूपमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा खाद्य पदार्थको भण्डारण, सरसफाइ, लेबल तथा कीट नियन्त्रणलगायतका पक्षमा केही सुधार गर्नुपर्ने अवस्था देखिएको छ,” डा. शर्माले भन्नुभयो “खाद्य व्यवसायीले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्नु आवश्यक छ । देखिएका कैफियत सुधार गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ।”

    उहाँका अनुसार मसीजन्य पत्रपत्रिकामा खाद्य पदार्थ राखेर बिक्री वितरण गर्नु खाद्य स्वच्छताको दृष्टिले उपयुक्त हुँदैन । उहाँले यस्तो अवस्थामा खाद्य पदार्थ दूषित हुने सम्भावना रहने भएकाले व्यवसायीले खाद्य पदार्थ राख्ने तथा बिक्री वितरण गर्ने क्रममा उपयुक्त सामग्रीको प्रयोग गर्नुपर्ने बताउनुभयो । 

    विभागले सोही दिन नागार्जुन नगरपालिका–४ स्थित ए वान गुँदपाक एन्ड पुष्टकारी भण्डारमा पनि अनुगमन गरेको थियो । उक्त व्यवसायमा गुँदपाकमा ढुसी तथा लेउ भेटिएको भन्ने गुनासो प्राप्त भएको थियो । तर अनुगमनका क्रममा गुँदपाकमा ढुसी वा लेउ भेटिएको प्रमाणित नभएको विभागले जनाएको छ ।

    यद्यपि पसलको प्याकिङ क्षेत्रमा रहेको ढोकाको जाली च्यातिएको र काठ भाँचिएको, सरसफाइको अवस्था सन्तोषजनक नरहेको तथा कच्चा पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको पाइएको थियो । त्यस्तै, कीट नियन्त्रणको व्यवस्था पनि पर्याप्त नरहेको अनुगमन टोलीले जनाएको छ ।

    व्यक्तिगत सरसफाइको अवस्था भने सामान्य रहेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

    विभागले उक्त व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न तथा अनुगमनका क्रममा देखिएका कैफियत तत्काल सुधार गर्न निर्देशन दिएको छ । गुँदपाकमा ढुसी तथा लेउ रहेको भन्ने गुनासोका सम्बन्धमा थप अनुसन्धान गर्न विभागले गुँदपाकको नमूना समेत संकलन गरेको छ ।

    नमूना परीक्षणको नतिजाका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी थप निर्णय लिन सकिने विभागले जनाएको छ ।

    डा. शर्माका अनुसार गुनासोका आधारमा गरिने आकस्मिक अनुगमनको उद्देश्य खाद्य व्यवसायमा देखिएका समस्या पहिचान गर्नुका साथै उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नु हो ।

    गुनासो प्राप्त भएपछि त्यसलाई बेवास्ता नगरी तत्काल अनुगमन गरेर वास्तविक अवस्था बुझ्ने गरिएको छ,” शर्माले भन्नुभयो “खाद्य व्यवसाय सञ्चालन गर्ने सबै पक्षले खाद्य स्वच्छता र गुणस्तरका मापदण्ड पालना गर्नुपर्छ । विभागले आवश्यकताअनुसार अनुगमन तथा नियमनलाई निरन्तरता दिनेछ।”

    विभागले पछिल्लो अनुगमनका क्रममा दुई वटा खाद्य व्यवसायको निरीक्षण गरेको हो । अनुगमनका क्रममा देखिएका कैफियत तत्काल सुधार गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ ।

    खाद्य पदार्थको उत्पादन, भण्डारण, बिक्री तथा वितरणका क्रममा स्वच्छता कायम गर्नु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । विशेषगरी अस्पताल परिसरमा सञ्चालित खाद्य व्यवसायमा खाद्य स्वच्छताको मापदण्ड पालना अझ महत्वपूर्ण मानिन्छ । अस्पतालमा उपचार तथा स्वास्थ्य सेवाका लागि आउने सेवाग्राही तथा बिरामीले उपभोग गर्ने खाद्य पदार्थ सुरक्षित र गुणस्तरीय हुनु आवश्यक हुन्छ ।

    विभागले खाद्य व्यवसायीलाई खाद्य पदार्थलाई मसीजन्य पत्रपत्रिका वा दूषण हुन सक्ने अन्य सामग्रीमा नराख्न, खाद्य पदार्थ उचित तापक्रममा व्यवस्थित रूपमा भण्डारण गर्न, लेबल विवरण पूरा राख्न, भान्सा तथा बिक्रीस्थलको सरसफाइ कायम गर्न र कीट नियन्त्रणको उचित व्यवस्था गर्न आग्रह गरेको छ ।

    यसैगरी खाद्य पदार्थको गुणस्तरमा शंका लागेमा वा खाद्य स्वच्छतासम्बन्धी समस्या देखिएमा विभागमा गुनासो गर्न सकिने र त्यस्ता गुनासोका आधारमा आवश्यक अनुगमन गरिने विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार