काठमाडौं, १८ साउन। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले औषधिको गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली, सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा औषधि व्यवसायको विश्वसनीयता कायम राख्ने उद्देश्यले थोक तथा खुद्रा औषधि व्यवसायीका लागि १० बुँदे व्यवसायिक सूचना जारी गरेको छ।
शुक्रबार जारी गरिएको सूचनामा औषधिको खरिद, बिक्री, भण्डारण, ढुवानी तथा वितरणका सम्पूर्ण प्रक्रियामा प्रचलित कानुन, मापदण्ड तथा निर्देशिकाको पूर्ण रूपमा पालना गर्न सबै व्यवसायीलाई आग्रह गरिएको छ।
संघका अनुसार औषधि आधिकारिक उत्पादक, आयातकर्ता वा उनीहरूले नियुक्त गरेका आधिकारिक स्टकिस्ट तथा थोक बिक्रेताबाट मात्र खरिद गर्नुपर्नेछ। स्रोत पुष्टि नभएका वा अनधिकृत माध्यमबाट प्राप्त औषधिको खरिद, बिक्री तथा वितरण नगर्न पनि व्यवसायीलाई सचेत गराइएको छ।
सूचनामा खुद्रा व्यवसायीहरूले आधिकारिक थोक बिक्रेताबाहेक अन्य कुनै पनि माध्यमबाट औषधि खरिद नगर्न तथा थोक व्यवसायीहरूले बिल जारी गर्दा ब्याच नम्बर, समाप्ति मिति, अधिकतम खुद्रा मूल्य (एमआरपी) र परिमाण अनिवार्य रूपमा मिलाएर मात्र बिक्री गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, कुनै पनि फर्मको नाम वा स्थायी लेखा नम्बर (प्यान) प्रयोग गरी अन्य व्यक्ति वा संस्थालाई औषधि बिक्री गर्ने वा बिल जारी गर्ने कार्य तत्काल बन्द गर्न संघले निर्देशन दिएको छ। यस्तो गतिविधि कानुनी रूपमा दण्डनीय कसुर हुन सक्ने चेतावनी पनि दिइएको छ।
संघले औषधिको भण्डारणका क्रममा आवश्यक तापक्रम, आर्द्रता, प्रकाश तथा शीत शृंखला (कोल्ड चेन) सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्ने जनाएको छ। साथै, खरिद बिलमा औषधि व्यवस्था विभाग (डिडिए) दर्ता नम्बर, प्यान, ब्याच नम्बर, उत्पादक वा आयातकर्ताको विवरणलगायत आवश्यक विवरण परीक्षण गरी अभिलेख सुरक्षित राख्न व्यवसायीलाई आग्रह गरिएको छ।
यसैगरी, थोक औषधि व्यवसायीहरूले चिकित्सकको पुर्जा वा बिरामीको प्रत्यक्ष आवश्यकताको आधारमा खुद्रा बिक्री गर्न नहुने स्पष्ट पार्दै औषधि कारोबारलाई कानुनसम्मत, पारदर्शी र व्यवस्थित बनाउन सबै व्यवसायीको सक्रिय सहयोग आवश्यक रहेको संघले जनाएको छ।
