• सोमबार, १५ भदौ २०८३
  • images
    विश्व डुबान रोकथाम दिवस

    डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

    डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

    शनिबार, साउन ९ २०८३
    शनिबार, साउन ९ २०८३
    डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

    काठमाडौँ, ९ साउन । नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ । वर्षायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढेसँगै डुबेर प्रत्येक वर्ष सयौँ नागरिकले ज्यान गुमाउने गरेका छन् । 

    नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । 

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको बताउनुभयो । डुबेर हुने दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबिच समन्वय हुनुपर्ने भन्दै उहाँले समुदायस्तरमा जनचेतना अभिवृद्धि तथा रोकथाम कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो । 

    विश्व डुबान रोकथाम दिवसका अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष तीन लाखभन्दा बढी मानिसको डुबेर मृत्यु हुने गरेको छ । दक्षिण–पूर्वी एसिया क्षेत्रमा मात्रै वार्षिक करिब ८३ हजार जनाले ज्यान गुमाउने गरेका छन् । सङ्गठनले नेपालमा पनि डुबेर हुने मृत्यु सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखाका उपप्रमुख निष्ठा श्रेष्ठले डुबान तथा चोटपटक व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो । 

    डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक क्षेत्रीय निर्देशक डा. क्याथरिना बोहेमेले डुबेर हुने मृत्यु रोकथाम कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउनुभयो । उहाँले सरकार, स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, विपत् व्यवस्थापन निकाय, अभिभावक तथा समुदायबिच प्रभावकारी सहकार्य भए डुबेर हुने अधिकांश मृत्यु रोक्न सकिने बताउनुभयो । 

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक घण्टा करिब ३० जनाले डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुनेमध्ये २४ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेका छन् । डुबेर हुने कुल मृत्युको ९२ प्रतिशत न्यून तथा मध्यम आय भएका देशहरूमा हुने गरेको छ । बाढीजन्य विपत्मा हुने मृत्युको ७५ प्रतिशत डुबेर हुने गरेको छ । तथ्याङ्क अनुसार नेपालमा पनि डुबेर मृत्यु गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । सङ्गठनका अनुसार सन् २०२४ को तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष एक हजार छ सय जनाको डुबेर मृत्यु हुने अनुमान छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ५९० जनाको डुबेर मृत्यु भएकोमा २०८०/८१ मा यो सङ्ख्या बढेर ८६७ पुगेको छ । 

    तथ्याङ्क अनुसार डुबेर मृत्यु हुनेमध्ये करिब एक तिहाइ बालबालिका छन् । मधेश प्रदेशमा यो अनुपात दुई तिहाइ पुगेको छ । नेपाली बालबालिकामा पौडी खेल्ने सिप पनि कमजोर देखिएको छ । १०–१४ वर्ष उमेर समूहका २५ प्रतिशत र १५–१९ वर्ष उमेर समूहका ४५ प्रतिशतले मात्र आफू पौडी खेल्न सक्ने बताएका छन् । 

    सङ्गठनका अनुसार नेपालमा डुबेर मृत्यु हुनेमध्ये ०–४ वर्ष ११ प्रतिशत, ५–१४ वर्षका २२, १५–२९ वर्षका २३ प्रतिशतको मृत्यु हुने गरेको छ । सचिव देवकोटाका अनुसार विद्यालय तहदेखि पौडी तथा जल सुरक्षा शिक्षा विस्तार गर्ने, जोखिमयुक्त जलाशय वरिपरि सुरक्षात्मक संरचना निर्माण गर्ने, बाढी पूर्वचेतावनी प्रणालीलाई प्रभावकारी बनाउने, स्थानीय तहको उद्धार क्षमता सुदृढ गर्ने तथा अभिभावकको निगरानी बढाउने हो भने डुबेर हुने अधिकांश मृत्यु रोक्न सकिन्छ । सङ्गठनले सन् २०३५ सम्म विश्वव्यापी रूपमा डुबेर हुने मृत्यु ३५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । यसैबिच शनिबार विश्व डुबान रोकथाम दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न जनेचतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।

    (सरोज ढुंगेलले गोरखापत्र दैनिकमा लेख्नुभएको समाचार)

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार