• बिहीबार , ५ कात्तिक २०८३
  • images

    अटिजमको वास्तविकता पर्दामा उतार्दै चलचित्र ‘गौँथली’

    अटिजमको वास्तविकता पर्दामा उतार्दै चलचित्र ‘गौँथली’

    शुक्रबार, असार १९ २०८३
    शुक्रबार, असार १९ २०८३
    अटिजमको वास्तविकता पर्दामा उतार्दै चलचित्र ‘गौँथली’

    काठमाडौँ, १९ असार ।  नेपाली चलचित्र ‘गौँथली’ले मनोरञ्जनसँगै अटिजमप्रति समाजमा सचेतना फैलाउने उद्देश्य बोकेको चलचित्रका रूपमा चर्चा बटुलिरहेको छ।

    फरक विषयवस्तु, कलाकारहरूको समर्पित प्रस्तुति तथा सिर्जनात्मक प्रचार शैलीका कारण चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढेको छ।

    images

    चलचित्रको मुख्य विषय अटिजम भएकाले निर्माण टोलीले प्रचार–प्रसारमा पनि सोही सन्देशलाई प्राथमिकता दिएको छ। चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्काले विभिन्न सार्वजनिक कार्यक्रममा चलचित्रका पात्रकै रूपमा उपस्थित भएर अटिजमबारे जनचासो बढाउने प्रयास गरेका छन्।

    चलचित्रको गीत सार्वजनिक कार्यक्रममा दुवै कलाकार बेहुला–बेहुलीको वेशभूषामा सहभागी भएका थिए भने केही दिनअघि एक टेलिभिजन कार्यक्रममा पनि उनीहरू चलचित्रकै पात्रका रूपमा अन्तर्वार्तामा सहभागी भएका थिए। उक्त कार्यक्रममा अरुण क्षेत्रीले अटिजम भएका पात्रको अभिनय यथार्थपरक रूपमा प्रस्तुत गरेका थिए भने सिम्रन खड्काले चलचित्रको कथासँग जोडिएको पात्रको भूमिकामै संवाद गरेकी थिइन्। सुरुआती समयमा धेरै दर्शकले उक्त प्रस्तुति वास्तविक घटना हो कि भन्ने अनुमान गरेका थिए।

    dr kapil rijal.jpeg
    डा.कपिल रिजाल

    निर्माण टोलीका अनुसार यो शैली प्रचारका लागि मात्र नभई अटिजम भएका व्यक्तिप्रति समाजमा रहेको भ्रम हटाउने र उनीहरूका जीवनका वास्तविक पक्षबारे छलफल सुरु गराउने उद्देश्यले अपनाइएको हो।

    चलचित्रका निर्देशक डा. कपिल रिजालका अनुसार अटिजमलाई दया वा कमजोरीका रूपमा होइन, समाजले बुझ्नुपर्ने न्युरो-विकाससम्बन्धी अवस्थाका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। समाजमा अझै पनि अटिजमबारे पर्याप्त जानकारीको अभाव रहेकाले चलचित्रले यस विषयमा संवाद सुरु गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।

    पेसाले दन्त चिकित्सक रहेका डा. रिजाल लामो समय बेलायतमा चिकित्सा क्षेत्रमा कार्यरत रहेपछि चलचित्र निर्देशनमा सक्रिय भएका हुन्। यसअघि उहाँले निर्देशन गरेको चलचित्र ‘ह्यारी कि प्यारी’ पनि दर्शकमाझ चर्चित बनेको थियो। यसपटक भने उहाँले सामाजिक तथा स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयलाई चलचित्रको केन्द्रमा राख्नुभएको छ।

    चलचित्रको कथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा साहित्यकार डा. भोला रिजालले लेख्नुभएको हो। पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ।

    चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली तथा बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीको अभिनय रहेको छ।

    शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायाङ्कन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।

    निर्माण टोलीका अनुसार ‘गौँथली’ केवल मनोरञ्जनका लागि बनाइएको चलचित्र मात्र नभई अटिजम भएका व्यक्तिप्रति सम्मान, स्वीकार्यता र सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याउने सामाजिक अभियानको एउटा माध्यम पनि हो।

    भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्र साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ

    प्रतिक्रिया दिनुहोस
    थप समाचार