चितवन, २० जेठ । गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार गरेको र डिजिटल माध्यमबाट ठगीमा संलग्न रहेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका २९ वर्षीय डा. पप्पुकुमार यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले उहाँको साथबाट ३० हजार अमेरिकी डलर नगद तथा १७ थान मोबाइल फोन बरामद गरेको जानकारी दिएको छ।
प्रहरीका अनुसार डा. यादव भरतपुर महानगरपालिका–१० स्थित चित्रसेन टोलमा भाडामा बस्दै आएका थिए। उहाँमाथि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा अभौतिक मुद्रासम्बन्धी अवैध कारोबार सञ्चालन गरेको आशंका पुष्टि हुने आधारहरू फेला परेको बताइएको छ।
अनुसन्धानका क्रममा बरामद भएका मोबाइल तथा अन्य विद्युतीय उपकरणहरूको परीक्षण गर्दा प्रतिबन्धित मानिएका ‘बाइनान्स’ र ‘बाइविट’ लगायतका एप्लिकेसन प्रयोग गरी क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार भइरहेको देखिएको प्रहरीले जनाएको छ।
भरतपुरस्थित एक अस्पतालमा कार्यरत डा. यादवबाट हालसम्म कति व्यक्तिलाई र कति रकम बराबरको ठगी भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो।
उहाँका अनुसार घटनासम्बन्धी डिजिटल प्रमाणहरूको विश्लेषण जारी रहेकाले थप विवरण अनुसन्धानको क्रममा खुल्दै जानेछ। प्रहरीले यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।