बीडीएसमा गण्डकी मेडिकल शतप्रतिशत सफल
काठमाडौं, १९ जेठ । नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको चिकित्सक तथा दन्त चिकित्सक लाइसेन्सिङ परीक्षाको कलेजगत नतिजा सार्वजनिक गरेको छ।
काउन्सिलले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार एमबीबीएसतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने कलेजमध्ये चितवन मेडिकल कलेज पहिलो स्थानमा रहेको छ। उक्त कलेजका ५८ परीक्षार्थीमध्ये ५४ जना उत्तीर्ण भई ९३.१० प्रतिशत नतिजा प्राप्त भएको छ।
त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशतसहित दोस्रो तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ८९.७७ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन्। केयू स्कुल अफ मेडिकल साइन्सेज ८८.७३ प्रतिशतसहित चौथो र गण्डकी मेडिकल कलेज ८६.२७ प्रतिशतसहित पाँचौँ स्थानमा रहेका छन्।
एमबीबीएसतर्फ नेपालगञ्ज मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्याम्पस, काठमाडौँ मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेज पनि उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्।
बीडीएसतर्फ भने गण्डकी मेडिकल कलेजले शतप्रतिशत नतिजा हासिल गरेको छ। उक्त कलेजका परीक्षामा सहभागी सबै १२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
नेपाल मेडिकल कलेज ९७.३७ प्रतिशतसहित दोस्रो, केयू स्कुल अफ मेडिकल साइन्सेज ९५.३५ प्रतिशतसहित तेस्रो तथा महाराजगञ्ज मेडिकल क्याम्पस ९५.२४ प्रतिशतसहित चौथो स्थानमा रहेका छन्। काठमाडौँ मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्तिपुर डेन्टल कलेज क्रमशः उत्कृष्ट १० कलेजभित्र परेका छन्।
नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको तथ्यांकले विभिन्न मेडिकल तथा डेन्टल कलेजहरूको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको व्यावसायिक दक्षताको अवस्था प्रतिबिम्बित गरेको जनाएको छ। लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेपछि मात्र चिकित्सक तथा दन्त चिकित्सकले नेपालमा व्यावसायिक अभ्यासका लागि दर्ता प्राप्त गर्ने व्यवस्था रहेको छ।