• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    डाक्टर उपाधिको दुरुपयोग रोक्न १५ दिने अल्टिमेटम

    डाक्टर उपाधिको दुरुपयोग रोक्न १५ दिने अल्टिमेटम

    शुक्रबार, जेठ ८ २०८३
    शुक्रबार, जेठ ८ २०८३
    डाक्टर उपाधिको दुरुपयोग रोक्न १५ दिने अल्टिमेटम

    काठमाडौँ, ८ जेठ । नेपाल मेडिकल काउन्सिलले अनधिकृत रूपमा ‘डा।’ उपाधि प्रयोग गर्दै चिकित्सा सेवा, परामर्श तथा भ्रामक विज्ञापन गर्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

    काउन्सिलले बुधबार जारी गरेको सूचनामा विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैरचिकित्सक स्वास्थ्यकर्मी वा अन्य असम्बन्धित व्यक्तिले नामअघि  ‘डा.उपाधि प्रयोग गरी उपचार, औषधि सिफारिस तथा परामर्श दिने कार्य बढ्दै गएको उल्लेख गरेको छ ।

    images

    काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणालीअन्तर्गत उपचार, परामर्श तथा  डा. उपाधि प्रयोग गर्ने अधिकार काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकलाई मात्र रहेको स्पष्ट पारिएको छ ।

    मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्साशास्त्रमा स्नातक वा सोभन्दा माथिल्लो उपाधि हासिल गरी काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्र चिकित्सकको मान्यता दिइने सूचनामा उल्लेख छ । विशेषज्ञ चिकित्सकका हकमा सम्बन्धित विषयमा विशेषज्ञ तालिम तथा डिग्री अनिवार्य हुने व्यवस्था पनि रहेको जनाइएको छ ।

    काउन्सिलले गैरदर्तावालाले डा. उपाधि प्रयोग गरेको पाइएमा १५ दिनभित्र प्रेस्क्रिप्सन प्याड, क्लिनिक साइनबोर्ड, भिजिटिङ कार्ड, आधिकारिक कागजात तथा सामाजिक सञ्जालबाट उक्त उपाधि हटाउन निर्देशन दिएको छ ।

    निर्धारित समयपछि विशेष अनुगमन टोलीमार्फत स्थल तथा डिजिटल माध्यमबाट निगरानी गरिने काउन्सिलले जनाएको छ । अनधिकृत रूपमा  डा. उपाधि प्रयोग गरी बिरामी जाँच्ने वा परामर्श दिने कार्य गरेमा काउन्सिल ऐनअनुसार मुद्दा दायर गरिने चेतावनी पनि दिइएको छ ।

    काउन्सिलका अनुसार कसुर पुष्टि भएमा तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार