स्याङ्जा, १२ वैशाख । स्याङ्जा जिल्लामा पछिल्ला चार वर्षको अवधिमा औलो (मलेरिया) का जम्मा पाँच वटा संक्रमणका घटना फेला परेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले “औलो अन्त्य हाम्रो संकल्प : सक्षम छौं, छैन अब विकल्प” भन्ने नारासहित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका निमित्त प्रमुख उमेश कुमार तामाङले जिल्लाको औलो अवस्थाबारे जानकारी गराउनुभएको हो।
तामाङका अनुसार जिल्लामा ‘भाइभेक्स’ र ‘फाल्सिफारम’ दुबै प्रकारका औलो संक्रमण देखिएका छन्। तीमध्ये दुई जना संक्रमित पुतलीबजार नगरपालिकाका हुन् भने वालिङ नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र गल्याङ नगरपालिकामा एक–एक जनामा संक्रमण पुष्टि भएको छ।
उहाँले स्याङ्जामा हालसम्म स्थानीय रूपमा औलो फैलिने अवस्था नदेखिएको उल्लेख गर्दै संक्रमण प्रायः भारतजस्ता उच्च जोखिम भएका क्षेत्रबाट फर्किने व्यक्तिमा मात्र सीमित रहेको बताउनुभयो।
कार्यालयले औलो नियन्त्रणलाई लक्षित गर्दै जनचेतना अभिवृद्धि, शीघ्र परीक्षण, प्रभावकारी उपचार तथा कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दिइरहेको जनाएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटीले सम्बन्धित निकायबीचको सहकार्यका कारण औलो नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल भएको धारणा राख्नुभयो ।