काठमाडौं, १६ वैशाख । मिर्गौला पीडित एक बिरामीले सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा मृत्यु भएको छ ।
मिर्गौलाको उपचाररत कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि अचानक हाम फाल्नुभएको हो ।
उहाँलाई तत्काल आकस्मिक कक्षमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सिंह लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
डायलाइसिस गराउँदै आउनुभएका सिंह सोमबार पनि डायलाइसिस गर्न आउनुभएको थियो ।
उहाँलाई चिकित्सकले स्वास्थ्य अवस्था हेरी भर्ना गर्नुभएको थियो । श्रीमती ईश्वरीदेवी कुरुवाका रूपमा अस्पतालमै हुनुहुन्थ्यो । अस्पतालका अनुसार ‘एकछिन बाहिर जान्छु’ भन्दै निस्कनुभएका सिंहले केहीबेरमै तेस्रो तलाबाट हाम फाल्नुभएको थियो ।