१३ वर्षमा एक हजार ६०६ मिर्गौला प्रत्यारोपण
भक्तपुर, २७ चैत। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो ६ महिनाको अवधिमा १०० जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठको नेतृत्वमा उक्त उपलब्धि हासिल भएको हो। प्रत्यारोपण कार्यको नेतृत्व युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले सम्हाल्नुभएको थियो ।
केन्द्र स्थापना भएको १३ वर्षको अवधिमा हालसम्म कुल एक हजार ६०६ जनामा मिर्गौला तथा ३६ जनामा कलेजो प्रत्यारोपण सम्पन्न भएको केन्द्रले जानकारी दिएको छ।
केन्द्रमा सीमित स्रोतसाधनका बाबजुद पनि हप्तामा औसत ५ देखि ६ जनासम्म मिर्गौला प्रत्यारोपण हुँदै आएको छ।
प्रत्यारोपण शल्यचिकित्सक डा. दिपेश श्रेष्ठले चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म २०० जनामा मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको बताउनुभयो।
केन्द्रले ऐतिहासिक उपलब्धिहरू हासिल गर्दै आएको छ ।
केन्द्रकै नेतृत्वमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, एकै दिन चार जनामा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण, एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण तथा एउटै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपणजस्ता उपलब्धि हासिल गरिसकेको छ।
यी उपलब्धिहरू विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समन्वय र अथक प्रयासबाट सम्भव भएको केन्द्रले जनाएको छ। नेफ्रोलोजी, एनेस्थेसिया, युरोलोजी, कार्डियोलोजी, प्याथोलोजी, रेडियोलोजी, नर्सिङ तथा प्रशासनलगायतका विभागको संयुक्त प्रयासले सेवा प्रभावकारी बनेको उल्लेख गरिएको छ।
कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले प्रत्यारोपण क्षेत्रमार्फत केन्द्रले देशको प्रतिष्ठा उकास्ने काम गरिरहेको बताउनुभयो।
उहाँले अंग प्रत्यारोपणसँगै सि.ए.पि.डी तथा हेमोडायलाइसिस सेवा सातै प्रदेशमा विस्तार गर्न केन्द्रले योगदान पुर्याइरहेको जानकारी दिनुभयो।
उहाँले सीमित स्रोतसाधनका बाबजुद केन्द्रले देशभर हुने कुल प्रत्यारोपणमध्ये करिब दुईतिहाइ सेवा प्रदान गर्न सफल भएको उल्लेख गर्नुभयो। मानव अंग प्रत्यारोपणका लागि स्थापित देशको विशिष्टीकृत संस्थामध्ये सबैभन्दा कान्छो संस्था भए पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको उहाँको भनाइ छ।