काठमाडौँ, २५ चैत। नेपाल मेडिकल काउन्सिल ले गत शुक्रबार सञ्चालन गरेको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा (पीजी) मा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले २५ वटा विषयअन्तर्गत कुल १६५ जनाले आवेदन दिएको जानकारी दिनुभयो ।
तीमध्ये दुई जना परीक्षामा अनुपस्थित रहनुभएको थियो भने दुई जनाको नतिजा रोक्का (विथहेल्ड) गरिएको छ।
परीक्षामा सहभागीमध्ये १३१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जुन कुल सहभागीको ८१.३७ प्रतिशत हो।
काउन्सिलले उक्त परीक्षामा अनुत्तीर्ण भएका ३२ जना परीक्षार्थीलाई प्राप्ताङ्क पुनरावलोकनका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ। इच्छुक परीक्षार्थीहरूले ३५ दिनभित्र निवेदन, प्रवेशपत्रको प्रतिलिपि तथा १ हजार ५०० रुपैयाँ बराबरको बैंक भौचर इमेलमार्फत पठाउन सक्ने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ।
उक्त परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पस को सूचना प्रविधि केन्द्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो। परीक्षाको नतिजा सोही दिन साँझ सार्वजनिक गरिएको काउन्सिलले जनाएको छ।