महोत्तरी, २४ चैत । महोत्तरीस्थित जलेश्वर–बर्दिबास सडकखण्डको बथनाहा गाउँमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा आगलागी भई एसइई दिएर फर्कंदै गरेका तीन विद्यार्थीको जलेर मृत्यु भएको छ।
उक्त दुर्घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले मृतक तथा घाइतेहरूको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेट समेत नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विपरीत दिशाबाट आएका ती मोटरसाइकलहरू एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए। ठोक्किएपछि दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
मृतक विद्यार्थीहरू एसइई परीक्षा दिएर फर्किँदै गरेका रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो।