नेपाल मेडिकल काउन्सिलद्वारा २०८३ सालको परीक्षा तालिका सार्वजनिक
काठमाडौं,२४ चैत । नेपाल मेडिकल काउन्सिलले २०८३ सालमा सञ्चालन गरिने विभिन्न परीक्षाहरूको वार्षिक तालिका सार्वजनिक गरेको छ।
काउन्सिलले प्रकाशित सूचनाअनुसार स्नातक तहको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा तथा स्नातकोत्तर तहको विशेष परीक्षा निर्धारित मितिमा सञ्चालन गरिनेछ।
सूचनाअनुसार स्नातक तहको लाइसेन्सिङ परीक्षा २०८३ साल जेठ १२, १३ र १४ गते सञ्चालन हुनेछ। त्यस्तै, असोज ५, ६ र ७ गते तथा माघ १३, १४ र १५ गते पनि उक्त परीक्षा सञ्चालन गरिने काउन्सिलले जनाएको छ।
स्नातकोत्तर तहको विशेष परीक्षा भने तीन चरणमा हुनेछ। पहिलो चरण श्रावण ७ र ८ गते, दोस्रो चरण मंसिर १६ र १७ गते तथा तेस्रो चरण चैत १८ र १९ गते सञ्चालन हुने तालिकामा उल्लेख गरिएको छ।
काउन्सिलले विशेष सूचनामार्फत सन् २०२० को सेप्टेम्बरपछि नेपाल बाहिर अध्ययन पूरा गरेका चिकित्सकहरूका लागि शैक्षिक योग्यताको आधिकारिक प्रमाणपत्र अनिवार्य गरेको छ। यस्तो प्रमाणपत्र बिना परीक्षा आवेदन स्वीकार गरिने छैन।
त्यस्तै, विदेशमा अध्ययन गरी नेपाल फर्किएका परीक्षार्थीहरूले सम्बन्धित निकायबाट जारी गरिएको अध्ययन तथा इन्टर्नशिपसम्बन्धी आधिकारिक कागजातहरू समेत अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाल मेडिकल काउन्सिलले परीक्षामा सहभागी हुन चाहने सबै उम्मेदवारहरूलाई आवश्यक कागजातसहित अनलाइन आवेदन दिन अनुरोध गरेको छ। काउन्सिलका अनुसार नियमअनुसार आवश्यक प्रक्रिया पूरा नगरेमा परीक्षा आवेदन अस्वीकार गरिनेछ।
हेरौं सूचना: