काठमाडौँ, १२ चैत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा रविकान्त मिश्रलाई अस्थायी रूपमा जिम्मेवारी प्रदान गरिएको छ।
परिषद्का निवर्तमान रजिष्ट्रार लिलानाथ भण्डारीको चार वर्षे कार्यकाल गत मंगलवार सम्पन्न भएसँगै उक्त पद रिक्त भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले गत ६ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि रजिष्ट्रारको जिम्मेवारी सम्हाल्ने गरी नियुक्ति दिनुभएको हो। सोही निर्णयअनुसार उहाँले बुधबार परिषद्मा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखामा कार्यरत रहनुभएका मिश्रले आफूलाई अस्थायी रूपमा जिम्मेवारी दिइएको उल्लेख गर्दै भन्नुभयो, “अर्को व्यवस्था नहुँदासम्मका लागि मलाई जिम्मेवारी दिइएको हो, बुधबारबाट मैले औपचारिक रूपमा काम सुरु गरेको छु।”
उहाँको नियुक्तिसँगै परिषद्को दैनिक प्रशासनिक तथा प्राविधिक कार्य सञ्चालनमा निरन्तरता रहने अपेक्षा गरिएको छ। स्वास्थ्य व्यवसायीहरूको दर्ता, नवीकरण, नियमन तथा गुणस्तर अभिवृद्धिसँग सम्बन्धित महत्वपूर्ण कार्यहरू परिषद्मार्फत सञ्चालन हुँदै आएका छन्, जसलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँले प्राथमिकता दिने विश्वास गरिएको छ।