काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्जमा फैलिएको दादुराको महामारी नियन्त्रण हुँदै गएको बताउनुभएको छ ।
उहाँले खोप नलगाएको कारण दादुरा फैलिएको बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालले मन्त्री गिरीसंग आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले दादुरा विरुद्धको खोप नलगाएकै कारण दादुरा फैलिएको बताउनुभयो ।
मन्त्री गिरीले नेपालगञ्जका कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।
आइतबार मात्रै बाँकेमा फैलिएको दादुरा प्रकोप नियन्त्रणको अवकलोकनका लागि मन्त्री गिरी सहितको स्वास्थ्य मन्त्रालयको टोली त्यहाँ पुगेको थियो। दादुराको प्रकोप नियन्त्रण हुन अझै एक महिना लाग्ने बताउँदै उनले नियन्त्रणका लागि स्रोत साधनमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।