भारत,२ चैत । भारत ओडिशाको कटकस्थित एससीबी मेडिकल कलेज तथा टिचिङ अस्पतालको ट्रमा केयर आइसियुमा सोमबार बिहान आगलागी हुँदा कम्तीमा १० जना बिरामीको मृत्यु भएको छ।
यस घटनामा कम्तीमा ११ जना अस्पताल कर्मचारी घाइते भएका छन्।
ओडिशा मुख्य मन्त्री मोहन चरण माझीका अनुसार ती कर्मचारीहरू बिरामीलाई उद्धार गर्ने क्रममा घाइते भएका हुन् ।
आगलागी बिहान २:३०-३:०० बजेको बीचमा भएको हो । अस्पतालको आईसीयूमा गम्भीर बिरामीहरू उपचाररत थिए । आगलागीको खबर पाउनासाथ धेरैवटा दमकल लिएर उद्धारकर्मीहरु अस्पतालमा पुगेका थिए ।
घटनापछि मुख्य मन्त्री माझी, स्वास्थ्य मन्त्री मुखेश महालिङ तत्काल अस्पताल पुग्नुभएको थियो।
उनीहरूले उपचाररत अन्य बिरामीहरूको अवस्था बारे जानकारी लिनुभएको थियो।
त्यसपछि मुख्यमन्त्री माझीले पत्रकारहरूसँग कुरा गर्दै कुल २३ जना बिरामीहरूलाई अन्य विभागमा सारिएको बताउनुभयो । उहाँले सात गम्भीर बिरामीहरूलाई आइसियु र वार्डमा सार्दा मृत्यु भएको समेत जानकारी दिनुभयो । उहाँले त्यसबाहेक अरु तीन जनाको पछि उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।
‘मैले सम्बन्धित अधिकारीहरूलाई घाइतेहरूको उचित उपचारका लागि निर्देशन दिएको छु,’उहाँले भन्नुभयो।
घटनामा मृत्यु भएका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिइने घोषणासमेत गरिएको छ। साथै, घटनाको न्यायिक छानबिन गरिने पनि जनाइएको छ ।