काठमाडौँ, ८ पुस । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
नक्कली शैक्षिक योग्यता पेश गरी प्रहरी सेवामा ओहोदा लाभ र सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
एसएसपी गिरीले सन् १९८८ मा विहार स्कुल एक्जामिनेसन बोर्ड पटना भारतबाट एसएलसी उत्तीर्ण गरेको भन्दै पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।
अख्तियारले एसएसपी गिरीले पेश गरेको शैक्षिक प्रमाणपत्रको अभिलेख नभएको र पेश गरेको प्रमाणपत्रमा जुन नम्बर छ, त्यो वर्ष गिरीको प्रमाणपत्र भन्दा धेरै कम नम्बरमा प्रमाणत्रहरु छापिएको जनाएको छ ।
गिरीले सोही प्रमाण पत्रको आधारमा विसं २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ र विसं २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोष्ट बेसिक व्याचलर इन नर्सिङ अध्ययन् पुरा गर्नुभएको थियो ।
अख्तियारले गिरीको सुरुवाती नियुक्ती नै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी हालको प्रहरी बरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै विभिन्न तालीम र सुविधा समेत लिई भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
विशेष अदालतमा बुझाइएको आरोप पत्रमा अख्तियारले गिरीलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग गरेको छ ।
गिरी आगामी १५ पुस देखि ३० वर्षे सेवा अवधी पुरा गरी अवकाशमा जाँदै हुनुहुन्थ्यो ।